|  

सिमलताल पहिरोः बेपत्ता बस खोज्न भारतबाट ल्याइयो ४० किलोको चुम्बक

१२ साउन, काठमाडौं । १५ दिनअघिदेखि त्रिशूलीमा हराइरहेका बस खोज्ने प्रयास निरन्तर चलिरहेको छ ।

सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीले नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट बस खसेकै दिनदेखि उपलब्ध स्रोत साधनको प्रयोग गरेर बस तथा यात्रुहरुको खोजी सुरु गरेका थिए । पछि सरकारले हराएका बस र यात्रु खोज्न भनेर भारतसँग सहयोग मागेको थियो । भारतबाट साउन ५ गते चितवन आइपुगेको उद्धार टोली ‘एनडिआरएफ’ले नेपालको सशस्त्र प्रहरी बलसँग मिलेर भोलिपल्टदेखि नदीमा खोजी सुरु गरेको थियो।भारतीय टोलीले ३ वटा सोनार क्यामेरा ल्याएका थिए।

त्यसअघि सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सोनार क्यामेराकै प्रयोग गरेर खोजी गरिरहेका थिए। तर उनीहरुसँग त्यसको रेकर्ड प्रणाली थिएन। भारतीय टोलीसँग क्यामेरासँगै त्यसले देखाएका तस्वीर रेकर्ड गर्ने प्रविधि पनि छ।४ जना गोताखोर र एक्पर्टसहितको टोलीले सशस्त्र प्रहरी बलसँग सहकार्य गरेर सिमलतालदेखि करिब ३० किलोमिटर पर काभ्रेघाटसम्म सोनार क्यामेरा डुबाएर बस र यात्रुहरुको खोजी गरिरहेको छ।

संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक)मगाएको छ।असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर-२९ स्थित नारायणघाट-मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

गणपतिमा ३८ जना र एन्जलमा २७ जना यात्रू रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालकाअनुसार अहिलेसम्म १९ जना यात्रुको शव भेटिएको छ। सनाखत भएका शवमध्ये ५ जना भारतीयका हुन्।