|  

चितवनमा ६४ जनामा डेंगु सङ्क्रमण 

१२ साउन, काठमाडौं । चितवनमा ६४ जनामा डेंगु सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षण गर्दा ५१ जनामा डेंगु  सङ्क्रमण देखिएको हो ।

यस वर्ष इच्छाकामना गाउँपालिकामा डेंगुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेंगु देखिएको छ । जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेंगुको सङ्क्रमण देखिएको थियो । २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो ।

विशेषगरी भदौ र असोजमा डेंगु रोग बढी देखिने गर्दछ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समयमा टोक्छ ।

वर्षातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोग देखिने गर्छ । डेंगु  लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेजस्ता लक्षण देखा पर्छन् । यस्तै वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तश्राव हुनेजस्ता लक्षण देखापर्दछ ।