|  

१७ वर्षीय युवकको मृत्यु भएपछि नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

१२ साउन, काठमाडौं । १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ ।

सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।

अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ  । अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ ।

जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो । आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।