|  

शरणार्थी प्रकरण र गिरीबन्धु फाइलको अनुसन्धान रोकिनु हुँदैनः महामन्त्री शर्मा

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भुटानी शरणार्थी र गिरीबन्धु टि–स्टेटका फाइलमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।

शनिबार मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा काठमाडौंले जोरपाटीमा गरेको २७ औँ साधारणसभामा बोल्दै शर्माले यस्तो बताएका हुन् । उनले इमान्दारीपूर्वक उक्त सम्झौता कार्यान्वयन गरेर जनतामा सुशासनको अनुभूति गराउनुपर्नेमा आफूहरुको जोड रहेको बताए । अनियमितामा संलग्न जो सुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘जनतामा आशा जगाउन आर्थिक अनियमितताका विषयमा कानुनअनुसार काम गर्न सम्बन्धित निकायलाई स्वतन्त्र छोडिदिनुपर्छ, सुशासन सबैको चासोको विषय भएकाले सबै फाइल विधिपूर्वक खुल्नुपर्छ, यसले कोही व्यक्तिलाई गाह्रो पर्ला, कुनै पनि पार्टीलाई गाह्रो पर्दैन, कुनै पनि दलले भ्रष्टाचारका घटनामा संलग्नलाई बचाउन लाग्नुहुँदैन,’उनले भने ।