|  

उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षतिको दर घट्यो

१२ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी दुर्घटना र मानवीय क्षतिको दर घटेको छ ।

पछिल्लो तीन वर्षमा उपत्यकामा दुर्घटना र त्यसबाट हुने मानवीय क्षति घट्दो क्रममा रहेको देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० हजार ७ सय ३३ सवारी दुर्घटना हुँदा १ सय ९१ जनाको मृत्यु भएको थियो । आव २०७९/०८० मा १० हजार ६ सय ७५ दुर्घटना हुँदा १ सय ८७ को मृत्यु र गत आवमा ८ हजार ८ सय ८१ सवारी दुर्घटना हुँदा १ सय ७७ जनाको मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनका अनुसार गत आवमा एक सय २९ पुरुष र ४८ महिलाको मृत्यु भएको थियो ।

जनचेतनामूलक कार्यक्रम, सुरक्षा जाँचमा कडाइ, विभिन्न अभियानसहित उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदा सडक दुर्घटनामा केही कमी ल्याउन सकिएको प्रहरी उपरीक्षक खड्काको दाबी छ । अघिल्लो आवको तुलनामा गत आवमा दुर्घटना सङ्ख्या १६.८ र मृत्यु हुनेमा ६ प्रतिशतले कमी आएको उनले जानकारी दिए । चालु आवमा पनि दुर्घटना न्यूनीकरण गर्ने लक्ष्यसहित ट्राफिक व्यवस्थापन सुधारलाई थप प्रभावकारी बनाउने योजना अघि बढाइएको खड्काले बताए । जनचेतनामूलक कार्यक्रमले सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पालना गर्न र सडक सुरक्षालाई आत्मसाथ गर्न प्रेरणा दिएको पाइएको उनको बुझाइ छ ।

ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, ट्राफिक सचेतना विशेष अभियानलगायत कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत हालसम्म ४ लाख ७७ हजार ३ सय ३ जना प्रत्यक्ष रुपमा लाभान्वित भएका प्रहरीले जनाएको छ ।