|  

देशभर १० जनामा हैजा संक्रमण

१२ साउन, काठमाडौं ।  देशभर १० जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले देशभर हालसम्म १० जनामा हैजा संक्रमण पुष्टि भएको जनाएको हो ।

ललितपुरमा सात र कैलालीमा तीन जनामा गरी १० जनामा हैजा पुष्टि भएको हो । ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो ।हैजाका जीवाणु सङ्क्रमित खाना वा पानीको सेवनका कारण लाग्ने गर्दछ ।

सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने सम्भावना रहन्छ । हैजा संक्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा संक्रमण भयो र उपचार पाएन भने केही घण्टामै संक्रमितको मृत्यु पनि हुनसक्ने विज्ञ बताउँछन् ।

यसका मुख्य लक्षणमा पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने हुन्छ । कडा लक्षण देखिएमा आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुनु, तिर्खा लाग्नु, छाला सुक्खा हुनु, रक्तचाप कम हुन, पिसाब पहेँलो हुनु र पिसाबको मात्रा कम हुने हुन्छ ।