|  

वीर अस्पतालभित्रका सबै इकाइहरूको समन्वय हुन आवश्यक : स्वास्थ्यमन्त्री पौडेल

१२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालभित्रका सबै इकाइहरूको समन्वय हुन आवश्यक रहेको बताएका छन् ।  

शनिबार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले वीर अस्पतालभित्रका सबै इकाइहरूको समन्वय हुन आवश्यक रहेको पनि बताए । 

उनले व्यवस्थापकीय पक्षमा उल्लेख्य सुधार हुन नसकेको जिकिर गर्दै राम्रोसँग सुधार र समन्वय गर्नसके भइरहेको जनशक्तिबाट नै राम्रो परिणाम दिन सकिने उल्लेख गरे । उनले खरिद प्रक्रियाका बारेमा उठेका प्रश्नहरू परादर्शी बनाउन आवश्यक रहेको बताए । वीर अस्पतालको सबै व्यवहार र कारोबार पारदर्शी हुने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले वीर अस्पतालले प्रभावकारी सेवा प्रवाह गर्न नसकेको गुनासो आइरहेको जनाए ।

इमर्जेन्सी सेवा, अप्रेसनका लागि वर्ष दिन कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ । सेवाग्राहीहरूले सेवा लिँदा सन्तुष्टि प्राप्त नगरेको जनगुनासो आएको भन्दै त्यसमा पनि विशेष ध्यान दिन निर्देशन दिए ।  

कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति डा भूपेन्द्र बस्नेतले वीर अस्पतालले विशिष्ट र अतिविशिष्ट सेवाहरूमा धेरे केन्द्रित गरिरहेको बताए । उनले वीर अस्पताल अति नै विशिष्टिकृत अस्पताल बनाउने गरी काम गरिरहेको बताए । उनले बिरामीले सहज र गुणस्तरीय सेवा प्रदान गर्नेकुरामा केन्द्रित भई काम गरिरहेको उल्लेख गरे ।