१३ साउन, काठमाडाैं । कालाे पाेथी निर्देशित मीनबहादुर भामकाे नयाँ फिल्म ‘शाम्बाला’को नेपाल प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले पत्रकार सम्मेलन गर्दै यो फिल्म आगामी भदौ २८ गते अर्थात् सेप्टेम्बर १३ मा रिलिज हुने जानकारी गराएको हो।
अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगिसकेको यो फिल्म नेपालका हलमा प्रदर्शन गर्न लागेकामा निर्देशक भामले खुसी व्यक्त गरे। ‘मेरो पहिलो फिल्म कालो पोथी केही हलमा मात्र रिलिज भएको थियो। यो भने नेपालभरिनै रिलिज हुँदैछ। दर्शकहरूको प्रतिक्रिया सुन्न उत्साहित छु,’ उनले भने, ‘कालोपोथी रिलिज हुँदा विदेशमा देखाएर सकेपछि मात्रै नेपालमा रिलिज गरेको भन्ने गुनासो आएको थियो। त्यही गुनासोलाई मध्यनजर गर्दै हामीले यसपटक छिटो नेपालमा रिलिज गर्ने निर्णय गरेका हौं। नेपाल प्रदर्शनपछि यो फिल्म विदेशका थुप्रै देशमा रिलिज हुनेछ।’
यसअघि विश्वप्रसिद्ध चलचित्र महोत्सव बर्लिन फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको यो फिल्म अगस्ट पहिलो साता स्विट्जरल्यान्डको लोकार्नोमा स्क्रिनिङ हुँदैछ।
‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो। उक्त फेस्टिभलको विधामा छनोट हुने यो पहिलो नेपाली फिचर फिल्म हो। एड्भेन्चर र म्याजिक रियालिजम् जनराको यस फिल्मलाई एप्पल इन्टरटेनमेन्टले नेपालभरि प्रदर्शन गर्न लागेको हो।
यो फिल्म बनाउन झण्डै १५ करोड खर्च भएको निर्देशक भामको भनाइ छ। यसअनुसार ‘शाम्बाला’ हालसम्मकै नेपालको महँगो फिल्म चलचित्र बनेको छ।