|  

अब विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाटै चलाउन सकिने

१४ साउन, काठमाडौं । अब विन्डोज ११ मा भएका फाइल स्मार्टफोनबाट नै चलाउन सकिने भएको छ ।

केही समयदेखि चर्चामा रहेको यो फिचर माइक्रोसफ्टले हालै केही सीमित प्रयोगकर्ता माझ सार्वजनिक गरेको हो । विन्डोजले आफ्नो ब्लग मार्फत अहिले यो फिचर विन्डोज इन्साइडर प्रोग्राममा रोल आउट हुन सुरु भएको जनाएको छ । विशेष गरी विन्डोज कम्प्युटरमा आउने फिचरहरू पहिल्यै चलाउन विन्डोज इन्साइडर प्रोग्राम बनाइएको हो ।

यसअघि विन्डोज कम्प्युटरमा भएका फाइलहरूमा पहुँच पाउन यूएसबी केबुलको सहयोग लिनु पर्ने हुन्थ्यो । अब भने विन्डोज ११ का फाइल एक्सप्लोररमा मोबाइलबाटै पहुँच बनाउन सकिने भएको हो । यसको अर्थ प्रयोगकर्ताहरूले मोबाइलबाटै कम्प्युटरमा भएका फाइलहरू सम्पादन गर्न, डिलिट गर्न, नाम पुनर्लेखन गर्न अथवा नयाँ थप्न सक्ने छन् ।

यद्यपि अहिलेलाई यो फिचर प्रयोग गर्न स्मार्टफोन एन्ड्रोइड ११ अथवा सोभन्दा माथि हुनु पर्छ । त्यस्तै फोनमा ‘लिङ्क टु विन्डोज’ इन्स्टल गर्नुका साथै तपाईं तपाईं विन्डोज इन्साइर प्रोग्राममा दर्ता समेत भएको हुनु पर्छ ।  

त्यसपछि तपाईंले 'सेटिङ्स्>ब्लुटुथ एन्ड डिभाइसेस>मोबाइल डिभाइस>म्यानेज डिभाइस'मा जानु पर्ने हुन्छ । जहाँ तपाईंले आफ्नो कम्प्युटरलाई फोनको एक्सेस दिनु पर्ने हुन्छ ।