|  

एसइई परीक्षाः पुनर्योग गर्दा ४.६ प्रतिशतको नतिजा परिवर्तन

१५ साउन, काठमाडौं ।  माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा चित्त नबुझेर पुनर्योग गर्नेमध्ये ४.६ प्रतिशत परीक्षार्थीको नतिजा परिवर्तन भएको छ तर, पुनर्योगका लागि निवेदन दिएका परीक्षार्थीमध्ये केही नतिजा सार्वजनिक गर्न बाँकी नै छ ।

बोर्डका अनुसार १८ हजार ६१२ जनाले पुनर्योगका लागि निवेदन दिएका थिए । जसमध्ये आइतबारसम्ममा १६ हजार २४१ जनाको नतिजा सार्वजनिक भएको छ । परीक्षार्थीले पहिले प्राप्त गरेका नतिजामा केही विषयको ग्रेड प्वाइन्ट (जीपीए)मा परिवर्तन भएको छ ।बोर्डले ग्रेडवृद्धि परीक्षा साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गर्दै छ ।

बोर्डले यस पटक नतिजामा ननग्रेडेड (एनजी) आएका जति सबै विषयमा पूरक ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ । यसअघि अधिकतम दुई वटा विषयमा एनजी आएका विद्यार्थीलाई मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो ।