१५ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले दक्ष जनशक्ति निर्माणका लागि शिक्षा मन्त्रालयको योजना माग गरेका छन् ।
राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा उनले ‘स्वदेशमै ‘टिक्ने’ र ‘बिक्ने’ जनशक्ति निर्माणमा शिक्षा मन्त्रालयको नीति के छ ?’भन्दै प्रश्न गरे । गत आर्थिक वर्षमा १ लाख १२ हजार ४ सय ९३ विद्यार्थी उच्च शिक्षाका लागि विदेश गएको तथ्याङ्क पेस गदै उनले यसका लागि १ खर्ब ५२ करोडभन्दा बढी रकम मुलुकबाट बाहिरिएको बताए । वि.सं २०७१ मा कक्षा १ मा करिब ११ लाख विद्यार्थी भएकामा गत वर्षको एसइई परीक्षासम्म आइपुग्दा करिब ५६ प्रतिशत विद्यार्थीले विद्यालय छाडेको उनले बताए ।