|  

दरबार हाइस्कुललाई चीनद्वारा शैक्षिक सामग्री सहयोग

१४ फागुन, काठमाडौं । चीन सरकारले काठमाडौंको दरबार हाइस्कुललाई शैक्षिक सामग्री सहयोग गरेको छ । चिनियाँ नयाँ वर्षका अवसरमा उपलक्ष्यमा चीन सरकारका तर्फबाट स्टेसनरी, खेलकुद तथा स्वास्थ्य सामग्री र पोसाक सहयोग गरिएको हो ।

विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शैक्षिक सामग्री हस्तान्तरण गरिन् । त्यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले चीन सरकारले पुनर्निर्माण गरेको विद्यालयमा चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा सहयोग गरेको बताए ।

२०७२ सालको भूकम्पमा पूर्ण रूपमा क्षति भएको दरबार हाइस्कुल भवन चिनियाँ सरकारले पुनर्निर्माण गरिदिएको थियो । चीन सरकारकै सहयोगमा विद्यालयमा फर्निचरलगायत सबै सामग्रीको व्यवस्थापन गरिएको थियो । पुनर्निर्माणपछि विद्यालयमा पठनपाठन सुरु भइसकेको छ ।