१७ साउन, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पुर्याइने भएको छ ।
ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पुर्याउनेछ । सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर छन् । आज दिउँसो ४ बजेपछि रथ तान्न सुरु हुने जनाइएको छ ।
रथलाई बाजागाजासहित जावलाखेल पुर्याइएको चार दिनपछि रष्ट्रप्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन छ । गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै नेपालको सबैभन्दा लामो जात्रा मानिने यो जात्रा सुरु भएको थियो ।
रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि उक्त जात्रा विधिवत् रूपमा सुरु भएको थियो । रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँ गावहाल, मंगलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गर्ने गरिन्छ ।