|  

काठमाडौँ, ललितपुर र कैलालीमा हैजाको संक्रमण बढी

१७ साउन, काठमाडौं । पछिल्लो तथ्याङ्कअनुसार देशभर २२ जनामा हैजा देखिएको छ ।

काठमाडौँ उपत्यकाका दुई जिल्ला काठमाडौँ र ललितपुरसहित कैलाली जिल्लामा हैजा देखिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ललितपुरमा १४ जना, कैलालीमा ७ जना र काठमाडौँमा एक जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । ललितपुरको गोदावरी नगरपालिका-१४ का १० जनालाई हैजा पुष्टि भएको हो । गोदावरीको एक पुनस्र्थापना केन्द्रका १६ वर्षीय युवालाई साउन ४ गते (जुलाई १९) टेकु अस्पताल ल्याएको थियो । उनको परीक्षण गर्दा ७ साउनमा (जुलाई २२) गते हैजा पुष्टि भएको थियो । त्यसपछि पुनस्र्थापना केन्द्र बस्ने १० जनालाई हैजा देखिएको थियो ।

यस्तै, ललितपुरकै इमाडोल, ग्वार्को र चापागाउँका ४ जनामा हैजा पुष्टि भएको छ । यसैगरी, काठमाडौँको टोखा नगरपालिकाका १ जनाको दिशा परीक्षण गर्दा हैजा देखिएको छ । यता, कैलालीको धनगढी उपमहानगरपलिका-१ का ७ जनामा हैजा पुष्टि भएको छ । काठमाडौँ उपत्यकाका ललितपुर, काठमाडौँ र कैलालीमा देखिएको हैजा एक अर्कासँग सम्बन्धित नरहेको पाइएको छ । बर्खा याममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन आग्रह गरिएको छ ।