१७ साउन, काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बाँचेका क्याप्टेन मनिष शाक्यकाे अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ ।
उनको स्वास्थ्य सामान्यउन्मुख बनेसँगै उनलाई डिस्चार्ज गर्ने तयारी रहेको अस्पतालका प्रमुख डा. सुनील शर्माले जानकारी दिएका छन् । आज अस्पतालले क्याप्टेन शाक्यलाई पत्रकारसँग साक्षात्कार गराउने तयारीसमेत गरेको थियो । ठूलो संख्यामा सञ्चारकर्मी अस्पतालमा उपस्थित भएका थिए । तर, नागरिक उड्डयन प्राधिकरणले अहिले उनलाई नबोल्न निर्देशन दिएको बताइएको छ । दुर्घटनाको विषयमा छानबिन समिति बनेकाले उक्त समितिको प्रतिवेदन नआउँदासम्म बोल्न रोक लगाइएको हो ।
अस्पतालकी निर्देशक डा. मीना थापाले अवस्था सामान्य हुँदै गएको जानकारी दिइन । उनले क्याप्टेनलाई अस्पतालमै राखिरहनुपर्ने अवस्था नभएपनि घरमै बसेर थेरापी र अन्य उपचारलाई भने निरन्तरता दिनुपर्ने बताइन । तत्कालै काममा फर्किन सक्ने अवस्था भने नरहेको उनले जानकारी गराइन् । दुर्घटनाका विषयमा क्याप्टेनसँग धेरै कुरा नगरेको उनको भनाइ छ । अस्पतालका प्रमुख शर्माले अस्पतालका चिकित्सकहरूको दक्षता र मिहिनेतले शाक्यलाई जोगाउन सकिएको भन्दै सन्तोष व्यक्त गरेका छन् । उनले भनेका छन्,‘यो एयरपोर्टबाट नजिकै रहेको अस्पताल हो । कुनै भवितव्य पर्यो भने यहीँ ल्याइन्छ । यो अस्पताल प्राविधिकरुपमा कति सक्षम छ भन्ने पनि आमजनतालाई बुझाउन सक्षम भयौं ।’
यहि साउन ९ गते बुधबार सौर्य एअरलाइन्सको एउटा विमान त्रिभुवन विमानस्थलमा दुर्घटनामा परी आगो लागेपछि एक बालकसहित १८ जनाको ज्यान गएको थियो । क्याप्टेन शाक्य भने बाच्न सफल भएका थिए ।