१७ साउन, काठमाडौं । विदेशी टेलिभिजन च्यानललाई रोयल्टी भुक्तानीका लागि सरकारले सटही सुविधा नदिँदा नेपालमा प्रसारण भइरहेका ७० वटा विदेशी टीभी च्यानलहरू बन्द भएका छन ।
गय रातिदेखि ती च्यानलले नेपालको लाइन काटिदिएको टेलिभिजन वितरकले बताएका हुन् । जसमा भारतका प्रमुख टेलिभिजन नेटवर्कहरू स्टार, सोनी, जी र कलर्स लगायत रहेका छन् । यी चार नेटवर्कको प्याकेजमा नेपालमा करिब ७० वटा टीभी च्यानलहरू प्रसारण हुने गरेका छन् । ती च्यानलले भुक्तानी सुविधा नपाएको भन्दै नेपालमा प्रसारण बन्द गरेको वितरकहरुको भनाइ छ ।
गत वर्षदेखि लागु गरेको आलाकार्ट प्रणाली लागु नगरेको भन्दै सरकारले विदेशी टेलिभिजन वितरकहरूलाई रोयल्टी भुक्तानीका लागि सटही सुविधा दिएको छैन । १५ चैत २०७९ मा सरकारले आलाकार्ट लागु गर्ने निर्णय गरेकोमा त्यसपछि वितरकहरूले विदेशी च्यानललाई भुक्तानीका लागि सटही सुविधा अहिलेसम्म पनि पाएका छैनन । नेट टीभीले नेपालमा स्टार र जी टेलिभिजनका च्यानलहरू वितरण गर्छ भने सोनी, कलर्स तथा अन्य टेलिभिजनको वितरकका रूपमा भने मेगा म्याक्स डिजिटलले काम गरिरहेको छ । यी दुवै कम्पनीहरूको समेत गरेर ३५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको टेलिभिजन वितरकहरूले बताएका छन् । अहिले टेलिभिजन वितरक, सेवा प्रदायक तथा सरकारबीच आलाकार्ट प्रणाली लागु भएको छ कि छैन भन्ने विषयमा विवाद चलिरहेको छ ।
टेलिभिजन सेवा प्रदायकहरू आफूहरूले ग्राहकलाई आलाकार्ट प्रणालीअनुरूप च्यानल छानेर प्रयोग गर्ने विकल्प दिएको तर त्यो प्रयोग गर्ने नगर्ने ग्राहकको नै छनोट रहेकाले यो प्रणाली लागु भएको बताउँछन् । सरकारले भने आलाकार्टका लागि छुट्टै एप्लिकेसन वा त्यस्तै प्रणाली बनाउनुपर्नेमा त्यसो नगरिएकाले त्यो लागु नभएको बताउँदै आएको छ ।
राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम नेपालमा टेलिभिजन च्यानलहरूको सिग्नल वितरण गर्ने संस्थाहरू केबल, एमएओ, डीटीएच, आईपीटीभी, एमएमडीएस, डीटीटीबीले यो प्रणालीअनुरूप मात्रै शुल्क लिन पाउने व्यवस्था सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको थियो । टेलिभिजनले उपभोक्ताबाट लिन पाउने शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन यस्तो प्रणाली लागु भएको मन्त्रालयको दाबी थियो ।