१८ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगको पैसा नउठाएको भन्दै विद्युत प्राधिकरणका कर्मचारीलाई सर्वसाधारणले कुटेर पठाउन थालेको गुनासो गरेका छन ।
आज लेखा समितिमा विद्युत वक्यौताको विषयमा भएको छलफलमा कुलमानले यस्तो धारणा राखेका हुन् । उनले भनेका छन्,‘विद्युतको पैसा नतिरेका ग्राहकको घरमा लाइन काट्न जाँदा संखुवासभामा स्थानीयले प्राधिकरणको कर्मचारीलाई कुटेर पठाएका छन् । स्थानीयले उद्योगबाट विद्युतको पैसा नउठाउन अहिले सर्वसाधारणको घरमा आएर लाइन काट्ने भनेर कुटेर पठाएका छन । हामीले मासिक ९ अर्ब विद्युत वक्यौता उठाउने गरेका थियौं । तर, अहिले उद्योगबाट पैसा नउठाएको भन्दै विद्युतको पैसा कम उठ्न थालेको छ । हामीले पनि प्रति महिना ७ अर्ब पैसा ऋण लिएको निकायहरुलाई तिर्नु पर्ने हुन्छ । उपभोक्ताले विद्युत वक्यौता तिरेनन भने कति बैंक डुब्छन थाहा छैन ।’
उद्योगले प्रयोग गरेको बिल गलत छ भनेर भन्न नसकिने उनले बताए । सुरुमा ३४१ वटा उद्योगले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेका थिए । त्यसमध्ये १ सय ८५ डेडिकेडेट र ५४ वटा ट्रंक लाइन प्रयोग गरेका थिए । ति उद्योगहरुले सुरुमा २ अर्ब पैसा तिरेका छन् । सरकारी र निजी संस्थाहरुले समेत ट्रंक र डेलिकेडेट लाइन प्रयोग गरेका थिए । हेटौंडा र उदयपुर सिमेन्टले सुरुमा विद्युतको पैसा तिरिरहेका थिए । निजी क्षेत्रले पैसा तिर्न छाडेपछि सरकारी सिमेन्ट कम्पनीले पनि अहिले विद्युत वक्यौताको पैसा तिर्न छोडेका छन् ।
प्रधानमन्त्री ओलीले साउन ४ गते डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता विवाद समाधानका लागि छलफल गरेर काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिएका थिए । लाइन काटिएका उद्योगले ३ महिनाभित्र बक्यौता तिर्ने गरी लाइन जोडिएको छ । प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।