|  

जोशीलाई बचाउने आशा जीवित छ : डा. झा 

काठमाडौं । मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका कांग्रेस नेता नवीन्द्रराज जोशीलाई बचाउने आशा अझै रहेको चिकित्सकले बताएका छन् ।

जोशीलाई बचाउने आशा ३० प्रतिशत अझै रहेको न्युरो सर्जन डा. राजीव झाले बताए । जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै उपचारको नेतृत्व गरिरहेका डा.झाले बिहीबार राति मस्तिष्कघात भएका नेता जोशीको शल्यक्रियापछि थापाथलीस्थित नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

डा. झाले भने, ‘पहिला हामीले फोक्सोबाट वान्ता निकाल्यौं । पाइप हालेर सास फेर्न सहज बनायौं । उहाँको आँखामा फुलो परेको छ, त्यसको अर्थ आधा दिमागले काम गर्न छोडेको छ ।’ त्यसपछि सिटी स्क्यान गरेर हेर्दा दिमागमा पानी बन्द भएको पाइएको उनले जानकारी दिए ।

राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सुरुमा बीर अस्पताल लगिएको थियो । वीरमा सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि नेता जोशीलाई नर्भिकमा रेफर गरिएको थियो । राति ३ बजेदेखि उनको नर्भिकमा उपचार भइरहेको छ ।