|  

भारत सरकारको सहयोगमा एकै साथ २५ वटा स्वास्थ्य चौकी पुनःनिर्माण हुँदै

काठमाडौं । धादिङ्ग र सिन्धुपाल्चोकमा २५ वटा स्वास्थ्य चौकी पुनःनिर्माणका लागि भारत सरकारले   ५३ करोड रुपिँया आर्थिक सहयोग गरेको छ । २५ वटा स्वास्थ्य चौकीको पुनःनिर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनःनिर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का परियोजना निर्देशकले चारवटा सम्झौतापत्रमा हस्ताक्षर गरे । 

धादिङ्ग जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो । २०७२ सालको भूकम्पले क्षति गरेका यी स्वास्थ्य चौकी ५३ करोडको लागतमा पुनःनिर्माण हुन लागेका हुन् । 

ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन)का बीच चारवटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर भएको छ । यी स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनःनिर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ ।

नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनःनिर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । त्यही प्रतिवद्धता अनुरुप १४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो ।