|  

सत्रकिलो पहिरोमा आफू मरेर यात्रु जोगाएका चालकलाई सम्मान

२२ साउन, काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालकलाई सरकारले मरणोपरान्त सम्मान गर्ने भएको छ ।

गत असार २८ गते सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका-४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो । आफू मरेर बसका यात्रुहरुलाई जोगाएको भन्दै सरकारले चालक विकलाई सम्मान गर्ने निर्णय गरेको हो ।

विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले चालक विकका परिवारलाई राहत रकमसहित सम्मान गर्ने निर्णय गरेको हो । 
बुटवलबाट काठमाडौं आइरहेको लु २ ख ६५६६ नम्बरको बस चालक विक चालक सिटमै बसेको अवस्थामा भिरबाट खसेको ढुंगाले किचिएका थिए ।

उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।उनले चलाएको बसमा करिब ३० जना यात्रु थिए । उनीहरू सबै जोगिए ।