|  

अतिकम विकसित मुलुकबाट माथि उक्लिने सूचीमा परेसँगै नेपाललाई फेरि चुनौती 

काठमाडौं ।  अतिकम विकसित मुलुकबाट माथि उक्लिने सूचीमा परेसँगै नेपाललाई चुनौती थपिएको छ । कोरोना महामारीका कारण अर्थतन्त्र मन्दाएको अवस्थामा नेपाललाई चुनौती थपिएको हो । 

राष्ट्रसङ्घले हालसालै गरेको निर्णयमा नेपाल, बंग्लादेश र लाओस अतिकम विकसित मुलुक ‘एलडीसी’बाट माथि उक्लिने सूचीमा परेका छन् । माथ्लो स्थानमा उक्लन पाँच वर्षको परीक्षणकाल दिइएको छ । कोरोनाका कारण पाँच वर्षको परीक्षणकाल दिइएको बताइएको छ । सामान्यत परीक्षणकाल ३ वर्षको हुने गरेको थियो । 

परीक्षणकालमा राष्ट्रसंघले नेपालका विभिन्न सूचकाङ्कहरू अनुगमन गर्ने छ । माथि उक्लनका लागि राष्ट्रिय प्रतिव्यक्ति आय १,२२२ अमेरिकी डलरभन्दा माथि हुनुपर्ने, मानव सम्पत्ति सूचकाङ्क ६६ वा माथि हुनुपर्ने, आर्थिक जोखिम सूचकाङ्क ३२ वा कम हुनुपर्ने लगायत मापदण्ड छन् । 

सन् २०१८ मा भने राष्ट्रसङ्घको सूचीमा परेर पनि नेपालले सन् २०१५ को भूकम्पको कारण देखाउँदै अतिकम विकसित मुलुकको सूचीमा नउकाल्न आग्रह गरेको थियो ।
आवेदन दिने प्रक्रियामा सहभागी राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले, ‘एलडीसीबाट माथि उक्लँदा आवश्यकपर्ने सङ्क्रमणकालीन व्यवस्था निश्चित गर्न केन्द्रित भएर काम गर्ने व्यवस्था अब छिटै गर्नेछौँ’ भनेका छन् । 

एलडीसीबाट माथि उक्लन नेपालले सन् २०१५ र सन् २०१८ मा नै लगातार दुईपटक मानव सम्पत्ति सूचकाङ्क र आर्थिक जोखिम सूचकाङ्कको मापदण्ड पूरा गरेको थियो । तर, प्रतिव्यक्ति आयको मापदण्ड भने अहिले पनि पूरा हुन सकेको छैन ।

हरेक तीन वर्षमा यो सूची हेरफेर गर्न राष्ट्रसङ्घको विशेष निकायले समीक्षा गर्ने गर्छ । यो पल्ट त्यो समीक्षा गर्न विकास नीतिसम्बन्धी समिति सीडीपीको बैठक फेब्रुअरी २२–२६ मा डाकिएको थियो।

राष्ट्रसङ्घले तीनमध्ये दुई सूचकाङ्क पूरा गर्नेलाई माथि उक्लन सिफारिस गर्ने गरेको छ । नेपाल सन् १९७१ देखि यही सूचीमा रहिरहेको छ । अहिले नेपाल लगायत विश्वभरिका ४६ मुलुक एलडीसीको सूचीमा छन् । 

दक्षिण एशियामा नेपालबाहेक बाङ्ग्लादेश, भुटान र अफगानिस्तान पनि एलडीसी मुलुकको सूचीमा छन् । तर, भुटान यसअघि नै एलडीसीबाट माथि उक्लने सूचीमा परिसकेको छ । हरेक तीन वर्षमा यो सूची हेरफेर गर्न राष्ट्रसङ्घको विशेष निकायले समीक्षा गर्ने गर्छ ।