|  

एक मिनेटमै आकाशबाट १७ हजार फिट तल झरेको थियो ब्राजिलमा दुर्घटना भएको जहाज

२६ साउन, काठमाडौं ।   ब्राजिलमा दुर्घटना भएको जहाजले दुर्घटना हुनुभन्दा डेढ मिनेटअघि उचाइ गुमाएको खुलेको छ ।

शुक्रबार दिउँसो १ः२१ बजे १७ हजार फिट उचाईमा उडिरहेको विमान १० सेकेन्डमै लगभग २४० फिट तल खसेको फ्लाइटराडार २४ को उडान ट्र्याकिङ डाटाले देखाएको छ ।

पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै गरेको भोयपास एयरलाइन्सको एटीआर-७२ जहाज साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरमा घरहरू रहेकै ठाउँमा खसेको थियो।जहाज २५० फिट तल खसेपछि फेरि ४०० फिट माथि पुगेको थियो।

त्यसको ८ सेकेन्डपछि २ हजार फिट हुँदै एक मिनेटको अवधिमा १७ हजार फिट तल खसेर दुर्घटना भएको थियो । उक्त जहाज आवासीय क्षेत्रमै खसेको थियो।

दुर्घटनास्थल वरपरका घरहरूमा केही क्षति पुगेको भएपनि त्यहाँका मानिसहरूलाई  मानवीय क्षति भने नभएको स्रोतले जनाएको छ । दुर्घटनामा परी जहाजमा सवार ५७ यात्रु र चालकदलका चार जना सदस्य गरी ६१ जनाको मृत्यु भएको छ । मृतकहरू सबै ब्राजिलकै नागरिकहरू छन्।