|  

अवहेलना मुद्दामा लिखित जवाफ लिएर सर्वोच्च अदालत पुगे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज सर्वोच्च अदालत पुगेका छन् ।

प्रचण्डविरुद्व अदालतको अवहेलना मुद्वा परेपछि लिखित जवाफ लिएर 'प्रचण्ड' अदालत पुगेका हुन् । गत माघमा विराटनगरमा आयोजित विरोध सभामा सभामा प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भएको दाबी गर्दै अधिवक्ता समिर हायूले मुद्दा हालेका छन् ।

स्मरण रहोस, प्रचण्डले विराटनगरमा संसद पुर्नस्थापन हुनुभन्दा पहिले बालेका थिए भने हाल संसद पुर्नस्थापन भइसकेको छ ।

प्रचण्डले विराटगरको सभामा भनेका थिए, 'हामीले धैर्यतापूर्वक सर्वोच्चले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र आवश्यकता अनुसार गर्छ भनेर भरोसा गरेर बसेका छौँ, जरूरी पर्‍यो भने म आज विराटनगरबाट भन्दैछु। देशैले सुने हुन्छ, जरूरी पर्‍यो भने हामी संसदको बैठक बस्छौं र यस्ता अपराधीहरूलाई कारबाही गर्छौं। संविधानले हामीलाई संसदको बैठक बस्ने अधिकार दिएको छ। केपी ओलीलाई विघटनको अधिकार दिएको छैन।'