२७ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच आज भेटवार्ता भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा द्विपक्षीय हित र सम्बन्ध विषयमा छलफल भएको हो । राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल-भारत मिलेर काम गर्नुपर्ने बताएका छन् । राष्ट्रपति पौडेलले नेपाल-भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् । उनले आपसी हित र समृद्धिका लागि दुई देशबीचको मित्रता र सहकार्य अझ मजबुत बनाउनुपर्छ भन्ने लागेको भन्दै कृषिको आधुनिकीकरण, पूर्वाधार विकास, जलविद्युत, व्यापार, लगानी, पर्यटन तथा मानव संशाधन विकास नेपालको प्राथमिकता रहेको बताए । नेपालमा जलविद्युत विकास, दिगो एवम सहज ऊर्जा व्यापारका लागि प्रशस्त संभावना रहेको उनको भनाइ छ ।
सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनिकरणको विषय दुवै देशका लागि चुनौति रहेकोले यसमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल सरकारका कैयो योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको उनले बताए । काम अगाडि बढिरहेका आयोजना चाँडै सम्पन्न गरेर बाँकी नयाँ प्राथमिकतामा काम गर्न भारत इच्छुक रहेको उनले बताएका छन् । नेपाल-भारबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै दुवै देशका जनताको हित हुने उल्लेख गर्दै विदेश सचिव मिस्रीले भारतले स्थिर, शान्त र समृद्ध नेपाल हेर्न चाहेको पनि प्रष्ट पारेका छन् ।