|  

१ महिनामा १२ सय १२ मनसुनजन्य घटनाः १ सय ७० को मृत्यु, ४४ जना वेपत्ता

२७ साउन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले यस वर्ष सरदरभन्दा बढी पानी परेकाले मनसुनजन्य घटना बढेर ठुलो जनधनको क्षति हुन गएको बताएका छन् ।

आज सिंहदरबारस्थित संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस वर्षको तथ्याङ्कमा हालसम्म सरदरभन्दा ४८ दशमलव ५ प्रतिशत बढी वर्ष भएको जानकारी दिएका हुन् । गृहमन्त्री लेखकले जेठ २८ गते नेपाल प्रवेश गरेयता पहिरो, बाढी र चट्याङमा परी १ सय ७० जनाको मृत्यु, ४४ जना बेपत्ता र १ सय ९७ जना घाइते भएको जानकारी दिएका छन् । जसमध्ये पहिरोबाट १०९ को मृत्यु र ३९ जना बेपत्ता, बाढीबाट ३५ जनाको मृत्यु र छ जना बेपत्ता तथा चट्याङबाट २४ जनाको मृत्यु भएको गृहमन्त्री लेखकले जानकारी दिए । 

साथै उनले १ हजार २ सय १२ घटना मनसुनी घटना भएको पनि बताए । विपद्को प्रतिकार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी १८ हजार ७ सय ७७ सुरक्षाकर्मी खटिएको उनको भनाई छ ।