|  

म्यानमारमा सुरक्षकर्मीले चलाएको गोली लागेर थप दुई जनाको मृत्यु 

काठमाडौं । म्यानमारमा शैन्य कू को विरोधमा भएको प्रदर्शनमा सुरक्षाकर्मीले गोली चलाउँदा थप दुई जनाको मृत्यु भएको छ ।

आइतबार प्रहरीले चलाएको गोली लागेर कम्तिमा दुई जनाको मृत्यु भएको र अरू दर्जनौं घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

यंगुनका विभिन्न स्थानमा अश्रु ग्यास प्रहार गर्दा पनि भीड तितरबितर नभएपछि प्रहरीले गोली चलाएको थियो। मृतकको संख्या अझै बढ्न सक्ने समाचारहरूमा जनाइएको छ।

यसअघि नै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।

गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकी लगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो । त्यसलगत्तै सुरु भएको विरोध प्रदर्शन रोकिएको छैन ।