|  

बंगलादेशको बाढी नेपालमा नपसोस् भन्दै सांसदहरुले गराए संसदबाटै सरकारलाई सचेत

२९ साउन, काठमाडौं । आजको प्रतिनिधि सभा बैठकमा बंगलादेशकी जननिर्वाचित प्रधानमन्त्री शेख हसिनाले भोगेको अवस्थाप्रति नेपालको संसदमा पनि बहस भएको छ ।

बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरूले नेपालका राजनीतिक दलले समयमै नचेते बंगलादेशको घटना नेपालमा दोहोरिन सक्ने भन्दै सचेत गराएका छन् । कांग्रेस सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार र शासकको दम्भका कारण बंगलादेशमा प्रधानमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै नेपालले पाठ सिक्नुपर्नेमा जोड दिए । त्यस्तै, नेकपा (माओवादी केन्द्र)का महेन्द्रबहादुर शाहीले युवामा देखिएको निराशा र आवेग आक्रोशमा बदलिए बंगलादेशको घटना नेपालमा दोहोरिनसक्ने बताए । माओवादीकै सांसद छिरिङ डम्डुल लामा भोटेले सरकारले जनभावनाविपरीत उल्टो काम गरे बंगलादेशको भन्दा खराब स्थिति आउन सक्ने चेतावनी दिए । त्यसैगरी रास्वपा सांसद अशिम शाहले पनि युवाको आक्रोश विस्फोटको अवस्थामा पुगेको भन्दै बंगलादेशको घटना दोहोरिनसक्ने बताए ।

संसद बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले बंगलादेशको घटनाले संसारभरका शासकलाई पाठ सिकाएको बताए ।  राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले बंगलादेशको बाढी नेपाल नपसोस भन्दै नेताहरूप्रति कटाक्ष गरे । सडक आन्दोलन तताउने युवालाई विदेश खेदिएकाले तत्काल त्यो अवस्था नआए पनि जनआक्रोश व्यापक रहेको उनको भनाइ थियो ।