|  

नेपालमा पनि बंगलादेशको अवस्था आउन सक्छ, सजग रहनुस् : शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउन सक्नेतर्फ सचेत गराए । उनले दुई तिहाइको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए ।

उनले सरकारले २४ वर्षपछिका युवाहरूलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए ।

उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने ? त्यसबारेमा सोच्नुपर्छ ।’

उनले छिमेकी मुलुक बंगलादेशको उदाहरण दिँदै दुई तिहाइको सरकार भएको देशको प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आउनु सामान्य घटना नभएको बताए ।

उनले भने, ‘नेपालमा आर्थिक अवस्था जर्जर छ, राजस्व उठ्छ १०/११ खर्ब, चालु खर्चमा १२/१३ खर्ब हुन्छ, ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ, बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाइको सरकार थियो, त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनै पनि बेला केही हुनसक्छ, त्यतातिर पन सतर्क हुनुस् ।’

नेता कोइरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे ।