|  

साताको पहिलो दिनमै भासियो सेयर बजार

१६ फागुन, काठमाडौं । साताको पहिलो दिन आज (आइतबार) सेयर बजार भासिएको छ । पछिल्लो केही समयबाट सेयर बजार निरन्तर भासिँदै गएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ७९.७४ अंकले घटेर २४७४.३९ मा पुगेको छ । नेप्से ३.१२ प्रतिशतले घटेको हो । 

यस्तै सेन्सेटिभ परिसूचक १४.५३  अंकले घटेर ४४७.२९ मा पुगेको छ । कूल २०७ वटा कम्पनीको एक करोड ६० लाख १७ हजार ३ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८ सय १४ रुपैयाँको कारोबार भएको छ । 

स्टकका अनुसार आइतबार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल र पर्यटन बाहेक सबै उपसमूहको शेयर राताम्मे भएको छ । त्यसैगरी, आइतबार कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको एक अर्ब २ करोड १६ लाख ३२ हजार ८ सय २४ रूपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

आज सबैभन्दा धेरै फाइदा कमाउनेमा चन्द्रागिरी हिल्सका लगानीकर्ता रहेका छन् । कम्पनी ३७ अंकले उकालो लागेको छ । त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा गण्पति माइक्रोफाइनान्स वित्तीय संस्थामा लगानीकर्ता रहेका छन् । संस्था –१०८ अंकले घाटामा गएको छ ।