|  

विभिन्न सर्तका आधारमा शिक्षकको सरुवा

१६ फागुन, काठमाडौं । गत पुस २० गतेदेखि शिक्षकको जिलान्तर सुरुवा रोक्का गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र शैक्षिक योजना तथा विकास महाशाखा शिक्षक व्यवस्थापन समन्वय शाखाले सरुवा रोक्का फुक्का गरेको छ ।

केन्द्रको सो शाखाले आज सबै शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै सरुवा रोक्का फुक्का गरेको हो । इकाइले जिल्लान्तर सरुवा हुने स्थानीय तह तथा जिल्ला भित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भए पछि मात्र गर्न सकिने केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले जानकारी दिए ।

केन्द्रले विभिन्न सर्तका आधारमा मात्र शिक्षकको सुरुवा गर्ने भएको हो । निर्धारित सर्त र सीमा भन्दा बाहिर गएर भने कुनै पनि स्थानीय तह र इकाइले शिक्षकको सरुवा गर्न भने सक्ने छैनन् ।

‘दरबन्दी मिलान सम्पन्न नगरेको स्थानीय तहहरुमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गर्न पाइँदैन ’ उनले भने , ‘स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा सिफारिस गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति गर्न पाइँदैन ।’

स्थानीय तह अन्तर्गतको विद्यालयमा रिक्त रहेको शिक्षक दरबन्दीमा सरुवाबाट पदपूर्ति गर्नुपर्ने अवस्था भएमा सरुवा गर्नु पूर्व स्थायी पदपूर्तिका लागि सिफारिस भएको संख्यामा असर नपर्ने गरी र सिफारिस अनुसार नियुक्ति पदस्थापना गर्ने सुनिश्चित नभई उक्त रिक्त दरबन्दीमा सरुवा गर्न पाइने छैन ।

त्यस्तै, खुद पुल दरबन्दी रहेका (दरबन्दी कटौतीमा परेका) स्थानीय तहको खुद पुल रहेको तहको शिक्षक दरबन्दीमा सरुवा गर्न नहुने शाखाका अधिकृत भुवनेश्वर जोशीले जानकारी दिए ।

जोशीका अनुसार पारस्परिक सरुवाको हकमा विषय र तह मिल्ने भएमा मात्र सम्बन्धित विद्यालय व्यवस्थापन समिति र स्थानीय तहको सिफारिसमा नियमानुसार सरुवा गर्न सकिने छ।