|  

पुनःस्थापनासँगै प्रतिनिधि सभाको विजनेश तयार हुँदै, पहिलेका ३२ विधेयक प्रक्रियामा जाने

काठमाडौं । प्रतिनिधि सभा विघटनअघिका ३२ वटा विधेयक प्रक्रियामा जाने भएका छन् ।  प्रतिनिधि सभा पुनःस्थापनापछि २३ गते बस्ने बैठकमा ३२ वटा विधेयक पेश गर्ने तयारी गरिएको छ ।

नेपालको संविधान जारी भएपश्चात् २०७४ को आम निर्वाचनपछि २०७४ फागुन २१ गतेदेखि संघीय संसद्को पहिलो अधिवेशन शुरुआत भएको थियो । त्यो समयदेखि अहिलेसम्म विधेयक शाखामा दर्ता भएका विधेयक ८७ छन् । तीमध्ये प्रमाणीकरण भएका विधेयक ५३ रहेका छन् भने दर्ता भएपश्चात् तीन विधेयक सरकारले फिर्ता लिएको थियो ।     

अहिले प्रतिनिधि सभामा प्रक्रियामा ३२ विधेयक रहेका छन् । तीमध्ये दर्ता भएर वितरण गरिएका आठ, समितिमा विचाराधीन १०, सभामा विचाराधीन १२ र राष्ट्रिय सभाबाट प्राप्त सन्देश पेश हुन बाँकी दुई विधेयक रहेको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले बताए । 

संघीय संसद्को पहिलो अधिवेशन २०७४ फागुन २१ गतेदेखि चैत २० गतेसम्म भएको थियो। संसद्को दोस्रो अधिवेशन २०७५ वैशाख २३ गतेदेखि असोज ११ गतेसम्म, तेस्रो अधिवेशन २०७५ पुस ११ गतेदेखि चैत १० गतेसम्म, चौथो अधिवेशन २०७६ वैशाख १६ गतेदेखि असोज २ गतेसम्म भएको थियो ।     
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । राष्ट्रपतिले वर्तमान प्रतिनिधि सभा विघटन गरी आउँदो वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी मिति तोकेकी थिइन् । तर, सर्वाेच्च अदालतले यही फागुन ११ गते प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सुनुवाइपछि पुनःस्थापना गर्ने फैसला गरेको थियो ।     

फैसला सुनाउँदै अदालतले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेशसमेत जारी गरेको थियो । अदालतको फैसलापछि सरकारले यसै फागुन २३ गते प्रतिनिधि सभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ ।