|  

दुई मिस्टरहरूले देशलाई बर्बाद पार्न खोजेका छन्– प्रधानमन्त्री ओली 

१६ फागुन, काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मिस्टर हेल्लो’ र ‘मिस्टर कम्फर्टेबल’ले देशलाई बर्बाद पार्न खोजेको आरोप लगाएका छन् । गृहजिल्ला झापामा औद्योगिक पार्कको शिलान्यास गर्दै  प्रधानमन्त्री आलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सोही समूहका एक जना नेता भीम रावललाई लक्षित गरेर सो टिप्पणी गरेका हुन् । 

देशलाई बर्बादीतर्फ दुई मिस्टरले लैजान खोजिए पनि त्यस्तो हुन नदिने बताए। “अविर जात्रा गर्दैगर्दा, लड्डु खुवाइखुवाइ गर्दैगर्दा एउटा फोन गर्छन् र आवाज सुनिन्छ हेलो‘ आपसे सहयोग लिएके, बहुतबहुत धन्यवाद !,” प्रधानमन्त्री ओलीले भने, “कसलाई भनेको मलाई थाहा छैन र कता फोन गरेको त्यो पनि थाहा छैन। सुनियो त्यस्तो, हामीले बनाएको होइन, यो उहाँ (प्रचण्ड) ले गरेको फोन, एउटा त्यस्तो हेल्लो मिस्टर, अर्को मिस्टर कम्फर्टेबल । दुई मिस्टरहरूले देशलाई बर्बाद पार्न चाहेका छन्।”

प्रधानमन्त्री ओलीले प्रचण्ड समूहलाई भारतले उचालेको संकेत गरे। ‘‘म हटेँ र अर्को कुन प्रधानमन्त्री भयो भने कुन देशका लागि अनुकूल हुन्छ अरे, नेपालका लागि अनुकूल होइन, नेपालीका लागि अनुकूल होइन,” उनले भने।

नेपाली जनताका लागि प्रचण्ड पिलोभन्दा बढी टन्टनाउने, विकास देख्‍न नसक्ने र बल्लबल्ल भएको पार्टी एकता भाँडेर हिँडेको भन्दै उनले प्रचण्डमाथि चर्को टिप्पणी गरे। प्रचण्डले आफ्नो स्वार्थ मात्र हेरेको प्रधानमन्त्री ओलीको आरोप छ।