१८ भदौ, काठमाडौं । टिकटकले ३२ जनासम्मको समूहलाई समेटेर च्याट गर्ने सुविधा थप गरेको छ ।
टिकटकको यो सुविधा १६ वर्षभन्दा माथिका प्रयोगकर्ताका लागि उपलब्ध छ । यसबाट प्रयोगकर्ताहरूबीच च्याट गर्न तथा भिडिओहरू आफ्ना साथी र परिवारका सदस्यहरूलाई आदानप्रदान गर्न सकिन्छ । यसअघि टिकटक भिडिओ आफन्त, साथीभाइलाई पठाउन अन्य मेसेजिङ एपहरूको सहारा लिनुपर्ने झन्झट थियो ।
अब टिकटकले आफ्नै प्लेटफर्ममा यो सुविधा उपलब्ध गराएर प्रयोगकर्ताहरूलाई भिडिओ हेर्ने, कमेन्ट गर्ने तथा प्रतिक्रिया जनाउने मौका दिनेछ । ग्रुप च्याट सुरु गर्न प्रयोगकर्ताले इनबक्सको माथि रहेको ‘च्याट’ बटनमा ट्याप गर्नुपर्छ । त्यसपछि ३१ जनासम्म साथीहरू छानी ‘स्टार्ट ग्रुप च्याट’मा ट्याप गरेर ग्रुप च्याट सुरु गर्न सकिन्छ ।
यदि ‘इन्भिटेसन’ मार्फत ग्रुप च्याटमा सामेल हुन चाहनुहुन्छ भने ‘इन्भिटेसन’ मा ट्याप गरेर ‘ज्वाइन ग्रुप’ मा ट्याप गर्नुपर्छ ।टिकटकको ग्रुप च्याटमा जोडिन त्यहाँ भएकाहरूमध्ये एक जनासँग भए पनि म्युचुअल फ्रेन्ड भएको हुनुपर्ने बताइएको छ ।