|  

धनुषामा भोज खान मामाघर गएका तीन बालकको डुबेर मृत्यु

२० भदौ, काठमाडौं । मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको पोखरीमा डुबेर बुधबार साँझ उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा १० वर्षीय आदित्यकुमार साह, नौ वर्षीय आयुष साह र १४ वर्षीय सुशान्त साह रहेका छन् ।

मावलीतर्फका हजुरबुबा महावीर साहको घरमा भोज खान आएको बालकहरू नजिकैको पोखरीमा पौडी खेल्न जाँदा डुबेको आशङ्का गरिएको छ । मृतक बालकहरू साहका तीनवटा छोरीका छोरा रहेको बताइएको छ ।

साँझ करिब ७ः३० बजेतिर पोखरीमा बालकको शव भेटिएको र सबै जना भोजमा व्यस्त रहेका बेला पौडी खेल्न गएका बेला मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको  छ । तीनै जनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ ।