२१ भदौ, काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेको प्रारम्भिक प्रतिवेदनमा औँल्याएको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।
साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको थियो भने पाइलट बाँच्न सफल भएका थिए ।
दुर्घटनाको छानबिन गर्न बनेको समितिले तौलको सन्तुलन नमिल्दा उड्नेबित्तिकै विमान खसेको जनाएको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको अध्ययनमा खुलेको छ ।
साथै, विमानको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा उल्लेख छ । ब्यागेजसहित १८,१३२ किलो तौलसहित जहाजले टेकअफ गरेको थियो । जसमा थप २ हजार किलो इन्धन थियो ।
मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा उल्लेख छ ।