|  

विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु

२१ भदौ, काठमाडौं ।  केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको छ । बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरीमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

आगलागीमा परेर मृत्यु हुने विद्यार्थीको संख्या बढ्न सक्ने आशंका गरिएको छ । आगोले पोलिएर गम्भीर घाइते भएका कयौं विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ ।

आगलागी भएको विद्यालय निजी बोर्डिङ हो । जहाँ ६ देखि १४ वर्षसम्मका बालबालिकाहरु अध्ययन गर्दै आएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार उक्त विद्यालयमा झण्डै ८ सय बालबालिकाहरु अध्ययनरत थिए ।

केन्याको राष्ट्रपति विलियम्स रूटोले घटनालाई भयानक र विनाशकारी भन्दै छानबिनको आदेश दिइसकेका छन् । उनले घटनामा जिम्मेवार व्यक्तिलाई कडा कारबाही गरिने पनि बताएका छन् ।