|  

ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेः घनश्याम भुसाल

२२ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले चुच्चे रेल र टावरहरुसँग जोडेर समाजवादको भाष्य बिगारेको आरोप लगाएका छन् ।

हरि रोकाद्वारा लिखित ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले पछिल्लो दुई वर्षयता पपुलिजम हावी भएको बताए । उनले भने, ‘पछिल्लो दुई वर्षमा पपुलिजमले हाम्रो समाजवाद बिर्गायो । व्यक्तिगत दोषारोपण पनि सुनिनसक्छ । हाम्रो समाजवादको सबैभन्दा बढ्ता भाष्य त ओलीजीले नै बिगार्नुभयो । चुच्चे रेल आउँछ, दुई वर्षमा काठमाडौंमा आउँछ, अर्को वर्ष बेनी जान्छ, उहाँले चुच्चे रेल र टावरहरुसँग जोडेर भाष्य बिर्गादिनुभयो ।’

महासचिव भुसालले ४०-५० करोडभन्दा ठूला भ्रष्टाचारको मुद्दामा राष्ट्रिय सहमति हुने गरेको जिकिर गरे । कांग्रेस, एमाले, माओवादीसहित आफ्नै पार्टी पनि त्यसमा सहभागी हुने उनको भनाइ छ ।