|  

अपराध न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय स्तरको सहकार्य आवश्यक :  गृहमन्त्री लेखक

२२ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतीको सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच अन्तर्राष्ट्रियस्तरको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित इन्टरपोल स्थापनाको शताब्दी दिवसलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘आपराधिक क्रियाकलापलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय प्रहरी सहयोगको विशेष महत्त्व हुन्छ,’ गृहमन्त्री लेखकले भने,‘यस्ता आपराधिक क्रियाकलापलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञताहरू, असल अभ्यास एवम् आपसी सूचना आदान प्रदान हुनु जरुरी हुन्छ ।’ समाजलाई शान्त, सुरक्षित एवम् भयरहित बनाउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा पनि गृहमन्त्री लेखकको जोड थियो ।

कार्यक्रममा गृह सचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीले कानुन कार्यान्वयन गर्दै शान्ति सुव्यवस्था कायम राख्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए ।

यस्तै परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका अपराध नियन्त्रण गर्न एवम् शान्ति सुव्यवस्था बलियो बनाउन कानुन कार्यान्वयन गर्ने निकायहरूबीच संयुक्त प्रयास आवश्यक रहेको बताइन ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कानुन कार्यान्वयन गर्ने निकायबीच संयुक्त सहकार्य, स्रोत र रणनीतिहरू आदान प्रदान गर्दै जटिल अपराधहरू र अन्य सुरक्षा चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सकिने बताए ।