|  

थारू समुदायमा आज अटवारी पर्व मनाइँदै

२३ भदौ, काठमाडौं । पश्चिम तराईका थारू समुदायमा आज अटवारी पर्व मनाइँदैछ ।

यो पर्व आइतबार मनाइने हुनाले ‘अटवारी’ भनिएको हो। महाभारतकालमा पञ्चपाण्डवमध्येका भीमले वनवासका बेला प्रदर्शन गरेको बहादुरीको स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको हो । अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको दोस्रो आइतबारका दिन मनाइन्छ ।

अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ।यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ। शनिबारको राति भिन्सर्या (दर भात) खाने चलन छ । आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ ।

व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ। त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन्।