|  

पोखराका इन्जिनियर शिव र सबइन्जिनियर उषा भ्रष्टाचारी ठहरः पौने २ लाख जरिवाना, ८ महिना कैद

२३ भदौ, काठमाडौं ।  घर निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि घुस लिने क्रममा पक्राउ परेका पोखराका इन्जिनियर शिव बराल र सब–इन्जिनियर उषा किरण रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

उनीहरूलाई १ लाख ७५ हजार जरिवाना र ८ महिना कैद सजाय सुनाइएको छ । गत चैत २८ गते घर सम्पन्नताको प्रमाणपत्र दिने सर्तमा घुस लिँदालिँदै सब–इन्जिनियर उषाकिरण र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट रंगेहात पक्राउ परेका थिए ।

त्यसलगत्तै यही प्रकरणमा मुख्य दोषी मानिएका इन्जिनियर शिवप्रसादलाई समेत पक्राउ गरी अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो । पोखरा १० मा बनेको एक घर निर्माण सम्पन्न भएको प्रमाणपत्र दिन इन्जिनियर बरालकै नेतृत्वमा रोकाया र सुरजले घुस मागेका थिए ।

त्यही क्रममा २ लाख रुपैयाँ बुझाइसकेर थप डेढ लाख रुपैयाँ बुझाउने क्रममा पोखरा–५ बाट उषाकिरण र सुरज पक्राउ परेका हुन् ।विशेष अदालतका खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो ।