|  

नक्कली डाक्टरले युट्युब हेर्दै पत्थरीको अपरेसन गर्दा १५ वर्षीय किशोरको मृ#त्यु 

२४ भदौ, काठमाडौं । भारतको बिहारमा नक्कली डाक्टरले युट्युब भिडिओ हेरी पत्थरीको अपरेसन गर्दा १५ वर्षीय किशोरको ज्यान गएको छ ।

घटना बिहार राज्यस्थित सारण जिल्लाको मढौरा भन्ने ठाउँमा गत शुक्रबार भएको हो । घटनाको विवरण अनुसार उल्टी र पेट दुखाइका कारण गोलू साह नामका किशोर नजिकैको गणपति सेवा सदन अस्पताल पुगेका थिए । त्यसपछि डाक्टर अजित कुमार पुरीले पत्थरी भएको भन्दै अपरेसन गर्नुपर्ने सुझाव दिए ।

उनले युट्युबमा देखिएका अपरेसन सम्बन्धी भिडिओहरूलाई आधार मान्दै अपरेसन गर्दा किशोरको स्वास्थ्य गम्भीर बन्यो ।  किशोरको स्वास्थ्य जटिल भएपछि ती डाक्टरले नै एम्बुलेन्स बोलाएर पटना अस्पताल पुर्‍याउन लागेका थिए । तर अस्पताल नपुग्दै किशोरको बाटैमा निधन भयो । यसपछि डाक्टर पुरी शवलाई त्यहीँ छोडेर फरार भए ।किशोरको परिवारका सदस्यहरूले क्लिनिक सञ्चालक पुरी नक्कली डाक्टर भएको आरोप लगाउँदै आफूहरूको अनुमतिबिनै अपरेसन गरेको बताएका छन् ।

अपरेसन गर्ने क्रममा पुरीले किशोरका बुवा चन्दन साहलाई बाहिर पठाएका थिए । पछि मोबाइलमा भिडिओ हेर्दै अपरेसन गरिरहेको देखेपछि किशोरका हजुरबुबा प्रल्हादले बुझ्न खोज्दा ‘डाक्टर म हुँ कि तिमी?’ भन्दै झपारेका थिए । नक्कली डाक्टर र क्लिनिकका कर्मचारीलाई पक्राउ गर्न प्रहरीले छापा मारेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार डाक्टरसँग अपरेसन गर्नको लागि आवश्यक कागजात र अनुमति नभएकाले उनका सबै क्रियाकलाप गैरकानुनी मानिएको छ ।​