|  

भेरी अस्पतालमा जापानिज इन्सेफ्लाइटिसको बिरामी फेला

२५ भदौ, काठमाडौं । बाँकेको नरैनापुर गाउँपालिकामा जापानिजइन्सेफ्लाइटिसको बिरामी फेला परेका छन् ।

नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापानिजइन्सेफ्लाइटिस पुष्टि भएको अस्पतालले जनाएको छ । उक्त बालिकाको एक सातासम्म ‘आइसीयू’मा उपचार भएको र अहिले अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । ती बालिकालाई जापानी इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएको बारे पनि थाहा हुन नसकेको जनाइएको छ ।

जापानी इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको छ । सुँगुर र चरामा जापानिजइन्सेफ्लाइटिसका भाइरस हुन्छ न्। ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि संक्रमित गराउँछ ।

सो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापानिजइन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखा पर्छ ।