२५ भदौ, काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टिममा रहेका खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ ।
देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता भएको हो ।
गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो ।
घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी विभिन्न विधाका राष्ट्रिय टिमका ७५७ खेलाडी लाभान्वित हुनेछन्।