|  

सेनाको विशेष फौज सैन्य अभ्यासमा सहभागी हुन चीन जाँदै

२५ भदौ, काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास हुने भएको छ ।

पाँच वर्षपछि नेपाल-चीन संयुक्त सैन्य अभ्यासको चौथो संस्करण चीनमा हुने भएको हो । दुई देशका सेनाबीचको सैन्य अभ्यास असोज ५ मा सुरु हुनेछ । उक्त सैन्य अभ्यास असोज १५ सम्म चल्ने सैनिक प्रवक्ता गौरव केसीले जानकारी दिए । कोरोना संक्रमणको जोखिम देखाउँदै २०७६ (सन २०१९) पछि दुई मुलुकका सैनिकबीच अभ्यास हुन सकेको थिएन ।

यस अघि पहिलोपटक काठमाडौंमा २०७४ वैशाख ३ देखि १२ गतेसम्म नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास भएको थियो । सैन्य अभ्यासको दोस्रो संस्करण २०७५ मा चीनको छेन्दुमा भएको थियो भने तेस्रो संस्करण नेपालमा भएको थियो । आतंकवादबाट उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई दृष्टिगत गरी दुवै देशका विशेष सेनाले २०७४ देखि सैन्य अभ्यास गर्दै आएका छन् ।

नेपाली सेनाको विशेष फौज सैन्य अभ्यासमा सहभागी हुन चीन जानेछ । नेपाली सेनाका तर्फबाट पर्यवेक्षक टोलीसमेत सहभागी हुनेछ । उपरथी प्रदीपजंग केसी लगायतको तीन सदस्यीय टोली पर्यवेक्षकका रूपमा सैन्य अभ्यासमा सहभागी हुने छ। सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला, विपद् व्यवस्थापनलगायत विषयमा केन्द्रित छ। सैन्य अभ्यासमा दुवै मुलुकका कम्तीमा १८÷१८ जना फौज सहभागी हुने छन् ।