|  

देशभरको बिरामी माटोको उपचार खोज्न बैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरको बिरामी माटोको उपचार खोज्न वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को ४७ औँ प्राज्ञसभामा नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगले माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरेका हुन । उनले तरकारी र उत्पादनमा विषादीयुक्त कीटाणु कसरी रोक्ने र चाहिने कीटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए  ।

साथै प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न पनि वैज्ञानिकहरूलाई आग्रह गरेका छन् ।