२५ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संवैधानिक परिषद्मा सहज बहुमत र्पुयाउन उपसभामुख इन्दिरा रानाबिरुद्ध महाअभियोग लगाउने तयारी गरिएको भन्दै विरोध गरेका छन् ।
आज झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र नेकपा एमाले सहितका सत्तारुढ दलहरू संवैधानिक अङ्गहरूमा आफ्नो कार्यकर्ता नियुक्ति गर्न र अहिलेको संवैधानिक परिषद्को गणितलाई सहज बनाउन उपसभामुख हटाएर कार्यकर्ता नियुक्ति गर्ने तयारीमा लागेको जिकिर गरेका हुन् । उनले जनताको असन्तुष्टि छताछुल्ल भइराख्दा पनि राजनीतिक दलहरू सच्चिने बाटोमा नगएको सुनाए । राजनीतिक दलहरू फेरि पनि जति सकिन्छ लुटौं, खाऔं भन्ने बाटोमा गइरहेको आरोप लगाए ।
उनले सत्तारुढ राजनीतिक दलका लागि देश प्राथमिकतामा नरहेको जिकिर गरे । अध्यक्ष लिङदेनले गणतन्त्र, धर्म निरपेक्षता र संघीयताको बोझ देशले बोक्न नसक्ने उल्लेख गरे । उनले आफू भ्रष्टाचार अनियमिततामा शुद्ध भएको भन्दै कुनैपनि अग्नि परीक्षा दिन तयार रहेको बताए ।