२५ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा जारी छ ।
दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरू सहभागी छन । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताए । उनले रुपान्तरण सम्भव भएको र त्यसको विकल्प नभएको बताएका छन् ।
माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिने भन्दै प्रचण्डले संविधानमाथि नै हमला हुने खतरा रहेको बताए । उनले परिवर्तनलाई जोगाउन सबै सुदृढ एकतासहित अघि बढ्नुको विकल्प नभएकाले अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रमसहित अघि बढ्ने बताए । माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेश तथा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको छ ।