|  

अनुमति नलिई जग्गा खण्डीकरण गर्नेलाई सरकारले कारबाही गर्ने उपप्रधानमन्त्री सिंहको चेतावनी 

२५ भदौ, काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यका विकास प्राधिकरणको संस्थागत पुनर्संरचना गरिने बताएका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राखेको प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले प्राधिकरणको भूमिकालाई स्पष्ट बनाउन पनि सरकारले त्यसको संस्थागत पुनर्संरचना गर्न चाहेको बताए । उनले सो प्राधिकरणबाट अनुमति नलिई काठमाडौँ उपत्यकाको जग्गा खण्डीकरण गर्नेहरूलाई सरकारले कारबाही गर्ने पनि चेतावनी समेत दिए । उनले काठमाडौँ उपत्यकाको सहरी विकास योजनालाई प्रभावकारी बनाउन बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र योजना अनुमति मापदण्ड, २०६२ अनुसार काम भइरहेको पनि बताए ।

उपप्रधानमन्त्री सिंहले सहकारी विकास ऐन तर्जुमा गर्ने कार्यलाई पनि सरकारले चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने बताए ।