२५ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेशस्तरीय कार्यक्रम परिसरमा सहकारी पीडितहरुले प्रदर्शन गरेपछि रास्वपा सभापति रवि लामिछानेले कसैले उचालिदिएको भरमा आफूविरुद्ध प्रदर्शन भएको बताए ।
उनले सहकारी पीडितहरुलाई भने, ‘गलत मान्छेलाई टार्गेट गरेर तपाईँहरु अपराध गर्दै हुनुहुन्छ ।’
सभापति लामिछानेले सहकारी पीडितहरुले अपराधमा संलग्न नरहेको मान्छेविरुद्ध कसैले उक्साएको भरमा विरोध गरेको बताए । रास्वपामाथि राजनीतिक पूर्वाग्रह राख्नेहरुले सहकारी भनेको रवि लामिछाने हो भन्ने भाष्य निर्माण गरिदिएको उनको आरोप छ ।
गोर्खा मिडियामा कार्यरत रहँदा कसरी रकम आएको छ भन्ने कुरा आफूलाई केही थाहा नभएको उनले बताए । लामिछानेले आफू गोर्खा मिडियाको लगानीकर्ता र एकाउन्टेन्ट नभएर तत्कालीन समयमा सञ्चारकर्मीको भूमिका निर्वाह गरेको बताए ।