|  

अब मुलुकको रुपान्तरणको जिम्मेवारी पनि काँग्रेसले नै लिनुपर्छः महामन्त्री शर्मा

३० भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान संसोधन मुलुकमा राजनीतिक स्थिरता कायम राख्नका लागि गरिने बताएका छन् ।

केन्द्रीय स्थानीय तह समन्वय विभागले हेटौँडामा आज गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै महामन्त्री शर्माले संविधान संशोधनको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताएका हुन् । उनले मुलुकमा ठूला-ठूला राजनीतिक परिवर्तन कांग्रेसकै नेतृत्वमा भएको जिकिर गर्दै अब मुलुकको रुपान्तरणको जिम्मेवारी पनि कांग्रेसले नै लिनुपर्नेमा जोड दिए ।

महामन्त्री शर्माले नयाँ राजनीतिक दलहरूले समेत जनताको चाहनाबमोजिम काम गर्ने लय नसमातेको भन्दै कांग्रेस नै नागरिकको सबैभन्दा विश्वासिलो साथी भएको दाबी गरे । महामन्त्री शर्माले जन्मदेखि मृत्युसम्म कांग्रेसका जनप्रतिनिधिहरूले नागरिकको घर आँगनमा पुगेर साथ दिनुपर्ने बताए । उनले चुनावमा उम्मेदवारकारुपमा गाउँमा पुग्दा गरेका प्रतिबद्धता र घोषणापत्रका बाचा पूरा गर्ने गरी काम गर्न समेत निर्देशन दिए ।